श्री ५ ज्ञानेन्द्र लाई मेरो अनुरोध !


हिन्दु हृदय सम्राट, यस हिमवत्खण्ड नेपाल राष्ट्रका भूपति श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारलाई मेरो अनुरोध:

१. राजनीति र स्वार्थको खेललाई अन्त्य गर्ने साहस छ भने मात्र आउनुहोस्।
यदि तपाईंको पुनरागमनले विगतझैँ तपाईंको नाम बेचेर स्वार्थी तत्वहरूले जनता शोषण गर्न पाउनेछन् भने, कृपया नआउनुहोस्। हामीले रातभरि रक्सी खाने, परस्त्रीसँग व्यभिचार गर्ने, जंगल बेच्ने, अनि दिनभर दौरा-सुरुवालमा "राजावादी"को नारा घन्काउनेहरूको संरक्षणका लागि तपाईंलाई चाहेका होइनौं। यदि तपाईंले यस्तो प्रवृत्तिलाई जरैदेखि उखेल्ने दृढ अठोट लिन सक्नुहुन्छ भने मात्र आउनुहोस्।

२. न्यायको अनुभूति दिलाउने जिम्मेवारी लिन सक्नुहुन्छ?
सम्पूर्ण नेपाली जनतालाई समान न्याय दिलाउन सक्नुहुन्छ? उनीहरूको मौलिक हक-अधिकार सुनिश्चित छ भन्ने प्रत्याभूति दिन सक्नुहुन्छ? यदि तपाईं साँच्चै नेपालमा राष्ट्रप्रेम जागृत गराउन चाहनुहुन्छ भने आउनुहोस्, अन्यथा टाढा नै रहनुहोस्।

३.भ्रष्टाचारमाथि कठोर कारबाही गर्नसक्नुहुन्छ?
विगतका भ्रष्टाचार छानबिन गर्न सक्नुहुन्छ? तपाईंका नजिकका मान्छे वा ठूला दलका नेताहरू जसले यो देशलाई खोक्रो पारे, तिनलाई कानुनी दायरामा ल्याउने आँट छ? यदि न्यायको राज स्थापित गर्न सक्नुहुन्छ भने आउनुहोस्, अन्यथा तपाईंको नाम बेचेर खानेहरूको संरक्षक हुन नआउनुहोस्।

४.नेपाली संस्कृति, धर्म, र परम्पराको संरक्षण गर्ने प्रतिबद्धता छ?
शाह वंशको इतिहास गौरवशाली छ, जसको ऋण हामी नेपालीले कहिल्यै तिर्न सक्दैनौँ। तपाईं र तपाईंका सन्तानले पृथ्वीनारायण शाहको मार्गदर्शन अनुसरण गर्दै साधु-सन्त, योगी, र राष्ट्रप्रेमी विचारकहरूको सम्मान र संरक्षण गर्ने प्रण गर्न सक्नुहुन्छ? यदि विगतमा जस्तै राष्ट्रगुरु योगी नरहरिनाथलाई जेल हाल्ने जस्तो गल्ती दोहोर्याउने सोच छ भने, कृपया नआउनुहोस्।

५.नेपाली जनताको स्वाभिमान पुनःस्थापित गर्न सक्नुहुन्छ?
नेपाली जनताको गुमेको स्वाभिमान फर्काउन सक्नुहुन्छ? नेपालीलाई गर्वका साथ शिर ठाडो पारेर हिँड्न सक्ने बनाउन सक्नुहुन्छ? यदि तपाईं साँचो राष्ट्रसेवा गर्न आउनुहुन्छ भने, हामी तपाईंको साथमा छौँ। तर, केही स्वार्थी राजनीतिक दल र व्यक्तिहरूको स्वार्थ पूर्ति गर्नकै लागि आउनुहुन्छ भने, आउन आवश्यक छैन।

६.गल्तीहरू सुधार्ने र नेपाललाई स्वाभिमानी राष्ट्र बनाउन सक्नुहुन्छ?
तपाईंका पूज्य पिताश्री श्री ५ महेन्द्र वीर विक्रम शाहको देहान्तपछि शाह वंशले केही गल्तीहरू गरेको छ। ती गल्तीहरूको प्रायश्चित गर्दै नेपाललाई पुनः स्वाभिमानयुक्त, विदेशी शक्तिबाट मुक्त, र समृद्ध बनाउन सक्नुहुन्छ? यदि तपाईंमा यस्तो साहस छ भने आउनुहोस्।

अन्त्यमा,
यदि तपाईं साँच्चै आफ्नो जीवन यो राष्ट्रको समृद्धिका लागि समर्पित गर्न तयार हुनुहुन्छ भने, हामी तपाईंको स्वागत गर्न तयार छौँ। तर, केवल टीका थाप्नको लागि मात्र फर्कनुहुन्छ भने, आउन पर्दैन !

जय नेपाल!


Author:

Lovedev Sharma
Undergraduate Student
BA (English Studies) & B.Ed. (TESOL)
Kathmandu University, School of Education

📧 Emaill@lovedev.com.np | lovedevsharma477@gmail.com
📞 Mobile: +977-9840629598
🌐 Websitewww.lovedev.com.np

"Man is made by his belief. As he believes, so he is." – Shree Krishna

Post a Comment

Previous Post Next Post